काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको फोहरमुक्त काठमाडौँ बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले फोहर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशेष पहल लिनुपर्ने खाँचो औँल्याए ।
थापाले भने, “काठमाडौँको फोहर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले गरिरहेको काममा मद्दत गर्नु हामी सबैको कर्तव्य हो । कतिपय कुरा दुइटा निकायले चाहेर मात्रै गर्न सम्भव छैन । स्रोत साधन र कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु ।”
सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानबमोजिम स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्ने सांसद थापाको भनाइ छ ।
फोहरमुक्त काठमाडौँ अभियानलाई सफल बनाउन महानगरसँग जोडिएका अन्य नगरपालिका र सम्पूर्ण वडाहरुले सङ्घसंस्थाको साथमा काम अघि बढाउन पनि आग्रह गरे ।
सांसद अमनलाल मोदीले नागरिकता अभावले बालबालिकाले विद्यालय भर्ना हुन नपाएको जनाउँदै नागरिकतासम्बन्धी विधेयक तत्काल अघि बढाइनुपर्ने माग गरे । उनले थारू समुदाय, मधेसी उत्पीडनमा परेका समुदाय तथा टीकापुरका बन्दी रिहाइको माग पनि गरे ।
सांसद डा अमरेशकुमार सिंहले संसद्मा उपसभामुखको नियुक्ति किन ढिलाइ भइरहेको छ भनी प्रश्न गर्दै आवश्यकता नभए उक्त पद खारेज गर्न माग गरे । उनले संसद्को राज्य व्यवस्था र सुशासन समिति सक्रिय नभएको भन्दै दुवैको औचित्य र आवश्यकता छैन भने खारेज गर्न माग गरे ।

प्रतिक्रिया