संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले नाइजेरियामा भएको बम हमलाको निन्दा गरेका छन् । उनले यस्तो जघन्य अपराध नगर्न भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्न माग पनि गरेका छन् ।
नाइजेरियाको दक्षिणपश्चिममा रहेको एक क्याथोलिक चर्चमा आइतबार भएको आक्रमणमा बन्दुकधारीहरुले बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान लिएका थिए । सो हिंसाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
महासचिव गुटर्रेसले विज्ञप्ति प्रकाशन गरेर यस्ता कार्य मानवीय अपराध भएको भन्दै आगामी दिनमा यस्ता हिंसात्मक कार्य कसैले पनि दोहोर्याउन नहुने बताए । नाइजेरियाको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा भएको सो रक्तपातमा त्यहाँको जिहादी समूहको हात रहेको बताइएको छ ।
सो समूहले पटक पटक सर्वसाधारणलाई समेत क्षति पुग्नेगरी आक्रमण गर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि आक्रमणको जिम्मेवारी कुनै समुहले लिएको छैन । चर्चमा उपस्थित सर्वसाधारणहरुमाथि हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउनु पहिले चर्चभित्र एउटा सानो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया