नवलपरासी । नवलपरासीमा अंश हत्याउनका लागि भतिजले काकीमाथि गोली प्रहार गरेका छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नै ३४ वर्षीया काकी रोशनी यादवमाथि गोली प्रहार गरेका हुन् ।
पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए । शुरूमा गोली प्रहार गरेको देखेकी रोशनी अत्तालिँदै भागेकी थिइन् । जिल्ला अदालतदेखि करिब ५० मिटरको दुरीमा रहेको व्यस्त सडकमा गोली चलेपछि स्थानीय आतंकित बनेका थिए ।
सन्तान विहीन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनसायका साथ हर्षरामले गोली हानेको आफन्तहरुले बताएका छन् ।
दुई अंश लगाएर सोमवार अदालतमा मिलापत्र जाने क्रममा हर्षरामले काकीमाथि गोली प्रहार गरेका हुन् । गोली प्रहार गर्ने हर्षरामको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । घटनास्थलबाट प्रहरीले १ थान गोली बरामद गरेको छ ।

प्रतिक्रिया