आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा बिहीबार आयोजित कार्यक्रममा उनले सबैको अपनत्व हुनेगरी बजेट ल्याइएको बताए ।

“बजेट निर्माणपूर्व सरोकारवाला पक्षसँग छलफल तथा अन्तरक्रिया गरी सरोकारवालाकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसका आधारमा बजेट निर्माण गरिएको हुँदा यो बजेट तपाईंहरूको हो, प्रतिनिधिका रुपमा मैले प्रस्तुति मात्रै गरेको हुँ”, अर्थमन्त्रीले भने, “मेरो क्षमताले भ्याएसम्म सबैका विषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु । अब सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर होऔँ ।”

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि विगतका बजेटको शृङ्खला अध्ययन गर्दै तथ्याङ्कीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताए । उनले भने, “बजेट राजनीतिक–आर्थिक दस्तावेज पनि भएकाले केही महत्वकांक्षा पनि बोकेको छ, तर प्राकृतिक स्रोतले भरिपूर्ण र अपार सम्भावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयको कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्यौँ भने हाम्रो सपना सार्थक हुनेछ ।”

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भई सकारात्मक सोचका साथ बजेट ल्याएकामा सरकारलाई धन्यवाद दिए । उनले तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको र कतिपय कर छुटका व्यवस्थाले निर्यात प्रवद्र्धनभन्दा पनि आयातलाई प्रश्रय दिने हो कि भन्ने शङ्का उत्पन्न गराएको बताए ।