पूर्वी युक्रेनको एउटा मुख्य तथा रणनीतिक शहर सेभेरोडोनेट्स्कका प्रमुखले आफ्नो लडाईँको अग्रमोर्चा शहरको आधा भागमा खुम्चिएको जनाएका छन् । तर ती शहरका प्रमुखले युक्रेनले अझै अवस्थालाई डटेर सामना गरिरहेको र त्यहाँ आफ्नो प्रतिरक्षा गरिरहेको बताए । त्यस क्षेत्रका गभर्नरले रूसीहरू शहरमा प्रवेश गरेपछिको अवस्था गम्भीर बनेको बताएका छन् ।
लुहान्स्कका गभर्नर सेर्हेई हाइडाईले पूरै क्षेत्र निरन्तरको बमबारीमाझ रहेको जनाएका छन् । जसका कारण सेभेरोडोनेट्स्कबाट सर्वसाधारणहरूलाई बाहिर निकाल्ने काम समेत अवरूद्ध बनेको छ । यसअघि गभर्नर हाइडाईले शहरका १५ हजारजति सर्वसाधारणहरू चेपुवामा परेको बीबीसीलाई बताएका थिए । मस्कोले अहिले लुहान्स्क क्षेत्रको सबैजसो क्षेत्रमा कब्जा जमाएको छ ।
त्यस क्षेत्रलाई उसले फेब्रुअरीमा हमला सुरु गर्नुअघि स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको थियो । यसैबीच युरोपेली सङ्घ ईयूले रुसविरूद्ध लगाएको पछिल्लो चरणको आर्थिक प्रतिबन्धको बचाउ गरेको छ । ईयूले यो वर्षको अन्त्यसम्ममा लगभग ९० प्रतिशत रुसी तेल आयात कटौती गर्न सहमति गरेको छ । तर युक्रेनको राष्ट्रपति कार्यालयका सहायक प्रमुखले यस्तो प्रतिबन्ध निकै ढिलो गरि आएको बताएका छन्।

प्रतिक्रिया