चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा ३० वटा लडाकु विमान पठाएपछि त्यसलाई चेतावनी दिन ताइवानले समेत लडाकु विमानहरू पठाएको जनाएको छ। । सोमबारको उक्त घटना जनवरी यताको सबैभन्दा ठूलो अतिक्रमण हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले चीनलाई ताइवानमाथि अतिक्रमण नगर्न चेतावनी दिएको केही दिनपछि र एक अमेरिकी अधिकारी उक्त टापुमा त्यहाँका नेताहरूसँग सुरक्षाका विषय छलफल गर्न पुगेकै दिन यस्तो भएको हो । चीनले आफ्ना हवाई मिशनहरूलाई पछिल्ला महिनामा बढाएको छ जसलाई उसले सैन्य अभ्यास भन्दै आएको छ ।
ती कदमले ताइवानलाई क्रुद्ध पार्नुका साथै उक्त क्षेत्रमा तनाव बढाएको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएर गएको एउटा प्रान्त ठान्छ र आवश्यक परेको बेला बलपूर्वक त्यसलाई लिन सक्ने बताउँछ । पछिल्लो घटनामा २२ वटा लडाकु विमानका साथै विद्युतीय युद्ध, पूर्व चेतावनी दिन र पनडुब्बीमा प्रहार गर्न सक्ने विमान प्रयोग भएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उपलब्ध गराएको नक्सा अनुसार विमान प्रतास टापुको उत्तरपूर्वी क्षेत्रमा उडेको थियो जुन ताइवानको एअर डिफेन्स आइडेन्टिफिकेसन क्षेत्र (एडिआईजेड)को एउटा हिस्सा हो । तर विमानहरू ताइवानको हवाई क्षेत्रलाई भने काटेनन् जसलाई आक्रामक व्यवहारको रूपमा लिन सकिन्थ्यो । एडिआईजेड देशको भूभाग र राष्ट्रिय हवाई क्षेत्र भन्दा बाहिरको भूभाग हो तर त्यहाँ समेत राष्ट्रिय सुरक्षालाई दृष्टिगत गर्दै विदेशी विमानहरूलाई पहिचान, निगरानी र नियन्त्रण गर्ने काम हुन्छ।

प्रतिक्रिया