काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयल निगमलाई सरकारले खारेज गर्न लागेको निराधार आरोप लगाएको बताएपछि शुक्रबारको संसद बैठमा हंगामा भएको छ । अध्यक्ष ओलीको अभिव्यक्ति झुठो, निराधार र पूर्वाग्रही रहेको भन्दै उनले आपत्ति प्रकट गरे ।
उनले भने, ‘कुन आधारमा भनियो नेपाल आयल निगमलाई खारेज गरिएर कमिशन खाएर, आधा कमिशन खायो, आधा कमिशन बाँकी छ भन्नेजस्तो झुठा, निराधार, पूर्वाग्रही नै हो त्यो अभिव्यक्ति । त्यो अभिव्यक्ति प्रतिपक्षी दलको नेताले आधारहीन र झुठा आरोप लगाएको छ । यो आरोप खेदजनक छ । र यसको हामी बिरोध गर्छौ । यो आपत्तिजनक छ । यो अधारहीन छ । झुठा छ र पुर्वाग्रही छ ।’ उनले कुन आधारमा सो आरोप लगाएको हो त्यसको जवाफ दिन पनि आग्रह गरेका थिए ।
बडूले भने, ‘पूर्वप्रधानमन्त्रीले यति हल्का र झुटा कुरा गर्नु आपत्ति छ । जनताको हितमा गरिने हरेक सत्कार्यमा कमिशन मात्रै देख्ने दुर्नियत देख्दा दया लाग्छ। साउन महिनामा आँखा गुमाएको गोरुले हरियो मात्रै देख्छ भन्थे त्यस्तै भएछ।’ बडुले ओलीलाई कमिशन खाएको पनि आरोप लगाए। उनले भने,’आफूले कमिशन नै कमिशन खाएर सत्ता गुमाउँदा पनि अझै चेत फिरेको रहेनछ।’
यति भनेपछि नेकपा एमालेका सांसद खगराज अधिकारीले आशनबाट उठेर त्यस भनाइलाई बडुले फिर्ता नलिएसम्म विरोध भइरहने बताए । त्यसपछि एमाले सांसदहरुले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएकाले फिर्ता लिन माग गर्दै बैठक अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया