यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसाथ गर्दछु


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा पराजित नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले निर्वाचित बालेन शाहलाई बधाई दिएकी छन् ।

“लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसाथ गर्दछु,” उनले लेखेकी छन्, “काठमाडौं महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।”

बिहीबार राति अन्तिम मतपरिणाम घोषणा भएपछि ट्विट गर्दै सिंहले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

आभार, सम्मान र बधाई
बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासिले दिनुभएको अपार माया, हौसला र समर्थनप्रती म हृदयदेखि आभार प्रकट गर्दछु l विजयी हुने गरि निस्चयनै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें l अत लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछु l

काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु l साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासिको भावना बमोजिम कार्य गर्न पुर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु l
निर्वाचनमा अहोरात्र खट्नु हुने पार्टीका आदरणीय साथिहरु, शुभेक्छुकहरू ,
संचारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकार मित्रहरू,

सामाजिक संजालबाट निरन्तर हौसला दिने युवा साथीहरू एवं निर्वाचन सम्पन्न गराउने राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनका पर्यवेक्षक लगायत सम्पूर्णमा म हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

मेरो प्रेरणाको श्रोत ससुराबुवा सर्वोच्च नेता गणेशमान सिंह एवं सासुआमा महिला नेतृ मंगलादेवी सिंहको आदर्श अनुरुप सदैब एक निस्ठावान सिपाहीका रुपमा लोकतन्त्र, नेपाली काँग्रेस पार्टी, काठमाडौ महानगरवासी अनि सिंगो देशको सेवामा अनवरत उत्साहपुर्वक लागिरहने संकल्पपनि यो घडिमा व्यक्त गर्न चाहन्छु l जय नेपाल !
सिर्जना सिंह
नगर प्रमुखको उम्मेदवार
काठमाडौं महानगरपालिका