लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे निर्वाचित भएका छन् ।
सुन्दरबजारमा नवनिर्वाचित कोइरालाले ६ हजार ६४१ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा एमालेकी भवानी केसीले पाँच हजार १८ मत प्राप्त गर्दै विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गरे ।
त्यस्तै, मध्यनेपालमा कांग्रेसका पाण्डेले ३३७ मतले एमालेका राजकुमार श्रेष्ठलाई पछि पार्दै विजयी भए । पाण्डेले ६ हजार ५५१ मत प्राप्त गरे भने, उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले जानकारी दिए । पाण्डे यसअघिका प्रमुखसमेत हुन् । प्रमुखमा पराजित श्रेष्ठ यसअघिका उपप्रमुख हुन् ।
त्यस्तै, उपप्रमुखमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई एक हजार ३४२ मत अन्तरले हराउँदै विजयी भइन् । उनले ६ हजार ४१६ प्राप्त गरिन् भने, उनको निकटम प्रतिद्वन्द्वी उपेन्द्रले पाँच हजार ७४ मत प्राप्त गरे ।
सुन्दरबजारमा २० हजार ७९६ मतदाता रहेकोमा १४ हजार ५२ मत खसेको थियो भने, मध्यनेपालमा २० हजार ९२ कूल मतदातामध्ये १३ हजार ७७१ मत खसेको थियो ।

प्रतिक्रिया