अमेरिकाको एरिजोनाका प्रहरीले फ्रिजमा कुकुर, बिरालो र चरासहित १८३ जनावर फेला परेपछि एक जना पुरुषलाई पक्राउ गरेको छ । ४३ वर्षका माइकल प्याट्रिक टुरल्यान्डले कतिपय जनावरहरू जीवितै रहेका बेला तीनलाई फ्रिजमा राखेको स्वीकार गरेको मोहेभ काउन्टीस्थित सेरिफको कार्यालयले जनाएको छ ।
उनलाई जनावरविरुद्ध क्रुरता देखाएको ९४ आरोप लगाइएको छ । घटनास्थलबाट लिइएका तस्बिर ’एकदमै घिनलाग्दो र मुटु बिझाउने’ खालको रहेको सेरिफको कार्यालयकी प्रवक्ता अनिटा मोरटेन्सेनले बताइन् । ती तस्बिर सार्वजनिक गर्नै नमिल्ने स्तरको क्रुर रहेको प्रहरीले जनाएको छ । अधिकारीहरूले अहिले टुरल्यान्डकी पत्नी ब्रुकलिन बेकको खोजी गरिरहेका छन् ।
एक जना सर्वसाधारणले प्रहरीलाई सूचना दिएपछि ती व्यक्ति पक्राउ परेका हुन् । उनले आफूले टुरल्यान्डमा सर्पहरू गर्भाधानका लागि छाडिदिएको तर उनी त्यो लिएर बेपत्ता भएको र केही महिना बित्दा पनि आफूले फिर्ता पाउन नसकेको बताएकी थिइन् । गोल्डेन भ्यालीस्थित घरबाट टुरल्यान्ड र उनकी श्रीमती बाहिरिएपछि त्यसका मालिकले आफूलाई सम्पर्क गरेको उनले बताएकी थिइन् ।
अपार्टमेन्ट सफा गर्न आउँदा मृत जनावरहरूले भरिएको फ्रिज ग्यारेजमा फेला पारेको र त्यसमा आफ्ना केही सर्प रहेको पनि घरधनीले बताएको उनले जानकारी दिएकी थिइन् ।
अधिकारीहरूले कुकुर, कछुवा, छेपारो, चरा, सर्प, मुसा र खरायोजस्ता कठाङ्ग्रिएका जनावरहरू फेला परेको जनाएका छन् । दश दिनपछि प्रहरीले टुरल्यान्ड घर फर्किएको थाहा पाए र उनलाई पक्राउ गरे । जनावरहरूलाई त्यसरी फ्रिजमा राख्नुको उनको उद्देश्य प्रस्ट भएको छैन ।

प्रतिक्रिया