बिहारमा ६० फुट लामो ५०० टनको फलामको पुल चोरी


भारतको बिहारको सासाराम जिल्लामा ६० फुट लामो एउटा फलामको पुल चोरी भएको छ । समाचार संस्था पीटीआईले प्रहरीलाई उदृत गर्दै आफूलाई सरकारी अधिकारी बताउने केही व्यक्तिहरूले यो चोरी गरेको जनाएको छ । उक्त पुलको वजन ५०० टन रहेको थियो र त्यसको निर्माण सन् १९७२ मा गरिएको थियो ।

न्यूज एजेन्सी एएनआईसँग कुरा गर्दै सासारामका प्रहरी उपरीक्षक आशीष भारतीले भने, “त्यो पुल सिँचाई विभागको थियो र त्यो उपयोगमा आएको थिएन।“.भारतीले उजुरी दर्ता गराएर अनुसन्धान थालिएको बताए ।

त्यसबाहेक जिल्लामा त्यस्ता सामानहरूको किनबेच गर्ने विक्रेताहरूलाई यसबारेमा सचेत गराइएको बताए । बिहार विधानसभामा विपक्षका नेता रहेका तेजस्वी यादवले यस विषयमा नितिश कुमारको सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।