कमल थापालाई भीम रावलको व्यङ्ग्यः देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ?


काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्हबाट चुनाव लड्ने बताएकोप्रति व्यङ्ग्य गरेका छन् । शुक्रबार अध्यक्ष थापाले आफ्नो पार्टी सूर्य चिह्नबाट समेत चुनाव लड्न तयार रहेको अभिव्यक्ति दिएपछि रावलले ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त भनी प्रश्न गरेका छन् । रावलले भनेका छन्, ‘थापाले एमालेको सूर्य चिह्न आगामी चुनाउमा २ दलको साझा चिह्न हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ? धन्य हो ! छेपारो राजनीतिको करामत ? समाजवादउन्मुख गणतन्त्र छिट्टै साकार हुन्छ कि क्या हो ?’

शुक्रबार दिउँसो चुनावी घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका थिए । उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको बताए ।

अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गरे । उनले नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको बताए । उनले भने, ‘राप्रपा नेपालले आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग सहकार्य र तालमेल गर्ने नीति लिएको छ । यस क्रममा नेकपा एमालेसँग प्रारम्भिक चरणको कुराकानी भइसकेको छ । र नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छौँ । नेकपा एमालेका केन्द्रीय तहका नेताहरुसँग हामी छिटै नै दुई पक्षीय कुराकानी गरेर निस्कर्षमा पुर्याउने छौँ । र हाम्रो पार्टीको स्थानीय तहका साथीहरुले आफ्ना समकक्षी नेकपा एमालेका साथीहरुसँग कुराकानी गरेर सकेसम्म स्थानीय तहमा समझदारी कायम गर्ने प्रयास गर्नुहुनेछ ।’

अध्यक्ष थापाले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताए ।