दमौली । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिको लागि भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ तनहुँ महोत्सवको सोमबार समापन गर्दै गृहमन्त्री खाँणले गठबन्धनको उपलब्धि सरकार बनाउनुमात्र नभइ संविधानको रक्षाका लागि भएको प्रष्ट पारे ।
गृहमन्त्री खाँणले लोकतान्त्रिक प्रणालीमाथि प्रहार भएपछि अहिलेको गठबन्धन बनेको बताए । उनले भने, “संविधान बचाउन गठबन्धन गरिएको हो, सरकार प्राप्तिका लागि मात्र होइन । मुलुकको विकास र शान्तिका लागि हो ।”
गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको भन्दै कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकार गम्भीर रहेको बताए। सीमित स्रोत र साधनका बाबजुद पनि सुरक्षा निकायले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ थियो ।
उद्योगी व्यवसायीको संरक्षणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाँणले भने, “उद्योगीको सुरक्षाका लागि गम्भीर र संवेदनशील छौँ । रोजगारी वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन व्यवसायी गतिशिल बन्नुपर्छ । जनतालाई सम्पन्न र सरकारलाई सक्षम बनाउन उद्योगी व्यवसायीको भूमिका छ ।”

प्रतिक्रिया