‘केही मान्छेहरू दिमाग खुस्केको जस्तो दिनदिनै जे मनमा लाग्यो त्यही बकबक गरिरहेका छन्’


धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन चुनावसम्म जाने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली निद्रामै बर्बराउन थालिसकेको बताएका छन् ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीमा जनलहर बढेको छ। हामी नीति र सिद्धान्तअनुसार अगाडि बढिरहेका छौँ। ओली सबै ढंगले प्रतिगमनतिर लागिरहेका छन्। सबै ध्वस्त पार्नतिर लागेका छन्।’

एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै उनले भने, ‘केही मान्छेहरू दिमाग खुस्केको जस्तो दिनदिनै जे मनमा लाग्यो त्यही बोलेका छन्, बकबक गरिरहेका छन्। त्योबाहेक अरू केही काम छैन। हामी त्यो प्रवृत्ति सिक्दैनौँ। हामी सुसंस्कार दिन्छौँ।’ उनले आफूहरूले मुलुकको राजनीतिलाई ठिक ट्रयाकमा ल्याएर संविधानको रक्षा गर्नेतिर लागेका दाबी गरे ।

वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर चुनावसम्म जाने सहमति सकारात्मक भएको उनको भनाइ छ । उनले भने, ‘गठबन्धनप्रति जनता उत्साही छन्। जनविरोधीहरूको मुख चाहुरिएको छ। निद्रा हराम भएको छ। बेहोस हुन बेर छैन। त्यसैले बर्बराउन थालेका छन्।’ उनले ओलीले आफूलाई फोन गरेर एकताको प्रस्ताव गरेको कुरामा कुनै सत्यता नभएको समेत प्रष्ट पारे।