स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुन्छ : नेता सिंह


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले शुक्रबार बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा नेता सिंहले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने बताए ।

“गठबन्धन जनताले दिएको म्याण्डेड नभई परिस्थितीले सृजना गरेको हो, यसलाई जोगाउँदै स्थानीय तहको निर्वाचनसम्म जानु अहिलेको आवश्यकता हो, स्थानीय आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन हुन्छ,” नेता सिंहले भने । सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

पार्टीका नेताले पार्टीले गरेका निर्णयको विरुद्धमा बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुने भन्दै उनले यसप्रति सचेत रहन सबैलाई आग्रह गरे ।

नेता सिंहले देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै एमसीसीबारे जनताप्रति फैलाइएको नकारात्मक भ्रम चिर्न जरुरी रहेको उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको संगठन बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताए । यसपटक कांग्रेसको पक्षमा लहर आएको भन्दै उनले सबैले मेहनत गर्नुपर्ने बेला आएको उल्लेख गरे ।