रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालमा ऐतिहासिक कीर्तिमान कायम गरेको रोल्पाली जनताले प्रतिगमनविरुद्ध समेत रोल्पालाई लालकिल्ला बनाइराख्ने विश्वास व्यक्त गरेका छन् । सोमबार रोल्पाको सातदोबाटोमा निर्माण भएको भ्यू टावरको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहिदहरुको स्मरण गर्दै आगामी निर्वाचनमा प्रतिगमनकारीलाई रोल्पाली जनताले परास्त गर्ने विश्वास व्यक्त गरेका हुन् ।
“रोल्पाले क्रान्तिप्रतिको निष्ठा, विचार र नेतृत्वप्रतिको निष्ठालाई कम हुन दिएको छैन ।” अध्यक्ष प्रचण्डले भने, “आगामी निर्वाचनमा पनि ती महान सहिदहरुलाई स्मरण गर्दै प्रतिगमनको षडयन्त्र परास्त गर्न फेरि लाल किल्लाको रुपमा कायम गर्ने छ ।” रोल्पा जिल्लाले क्रान्ति र ध्वंस मात्रै नभएर विकास र समृद्धिका पक्षमा समेत आफूलाई अब्बल साबित गरेको बताउँदै अध्यक्ष प्रचण्डले जिल्लाको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
“रोल्पाले युद्धमा मात्रै होइन शान्तिमा पनि निर्माणमा पनि रेकर्ड बनाउन सक्छ भन्ने सन्देश प्रदर्शित गर्नुभएको छ । रोल्पाको विकासका लागि राष्ट्रिय समझदारी बन्ने विश्वास लिएको छु ।” उनले भने, “सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर विकास निर्माणमा तपाईहरु अघि बढनुहुनेछ, केन्द्रबाट गर्नुपर्ने सहयोगका लागि म सधैं तत्पर छु ।”
जनयुद्धका सहिदहरुको सम्झना गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको षड्यन्त्र अझै कायम भएको बताए । प्रतिगमनविरुद्धको संघर्षकै क्रममा गठबन्धन बनेको प्रसंग उल्लेख गर्दै उनले आगामी निर्वाचनसम्म गठबन्धन अघि बढने समेत बताए । “गतसाल झण्डै झण्डै प्रतिगमन हुने पो हो कि, संविधानका उपलब्धि उल्टिने पो हो कि भन्ने खतरा उत्पन्न भएको थियो । तर हामीले संघर्ष गरेर सफल भयौं । हामी गठबन्धन बनायौं । यसलाई भत्काउन पनि देशी विदेशी षडयन्त्र भयो र अहिले पनि भइरहेको छ ।” उनले भने, “हामी गठबन्धनलाई झनै बलियो बनाउन र आगामी निर्वाचनमा एउटा रेकर्ड बनाएर जानका लागि प्रयत्नशील छौं ।”

प्रतिक्रिया