महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले निर्माण गरेको संरचना हटाउन एमालेको माग


काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ ।

आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकले सत्तारुढ दल विशेषलाई अनुकूल हुनेगरी यस्तो निर्णय गरेको निष्कर्ष निकाल्दै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको हो । त्यसैगरी बैठकले मतदातालाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा, बढुवालगायतका काम सरकारले गरिरहेकोमा पनि बैठकले आपत्ति जनाएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेले महाकाली नदीको धार नै परिवर्तन गर्ने गरी भारतीय पक्षले संरचना निर्माणको काम अघि बढाउँदा पनि सरकार मौन रहेको भन्दै तत्काल भारतसँग वार्ता गरी सो संरचना निर्माणका काम रोक्न लगाई आफ्नो भूमि र सीमा सुरक्षा गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले आम उपभोक्ताको ढाड सेक्नेगरी मूल्यवृद्धि हुँदा पनि त्यसलाई नियन्त्रण गर्न सरकार पूर्णत असफल भएको आरोप समेत लगाएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख सुब्बाले बैठकले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्र र प्रतिवद्धता पत्र निर्माणका लागि आवश्यक सुझाव दिन पनि सार्वजनिक अपील गर्ने निर्णय गरेको बताए ।

एमालेले आगामी बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणा पत्र र प्रतिवद्धता पत्र एकसाथ सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।