दोलखामा आगलागीबाट ५० लाखको क्षति


चरिकोट । दोलखा कालिन्चोक गाउँपालिका–५ लापिलाङमा शनिबार बिहान भएको आगलागीबाट विकास थापा, कृृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष सुवास थामीले जानकारी दिएका छन् ।

खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पूर्ण निर्माण गरिएको तीनवटै घर र सामग्री जलेर नष्ट भएको छ । भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।

बाक्लो गाउँ भएको र घरहरुसँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घरसमेत जलेर नष्ट भएको छ । आगलागीबाट तीनवटा घरसहित घरमा भएको सामग्रीहरु जलेर करिब ५० लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष थामीले बताए ।