काठमाडौं । पहिलो चरणको काम सम्पन्न भएपछि कमलपोखरीको उद्घाटन भएको छ । कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअनुसार दुई चरणमा पुनःनिर्माण हुँदैछ । पहिलो चरणको काम सकिएपछि बुधबार साँझ कामपाका प्रमुख विद्या सुन्दर शाक्यले पोखरीको उद्घाटन गरेका हुन् ।
पोखरी पुनःनिर्माण गर्न र सौन्दर्य बढाउने कामका लागि धनञ्जय कँडेल जेभी रानीबारीले छ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँमा जिम्मा पाएको थियो । विसं २०७७ असार १५ गतेभित्र पुनःनिर्माण पूरा गर्ने मुख्य शर्तका आधारमा निर्माण पक्षलाई महानगरले २०७६ असार ६ गते कार्यादेश दिएको थियो ।
कोभिड महामारीले निर्माण सामग्री ल्याउन र जनशक्ति परिचालन गर्न नसकिने अवस्था आएपछि पुनःनिर्माणको काम तोकिएको समयमा काम नभएर ढिला भएको हो । पोखरी उद्घाटनपछि प्रमुख शाक्यले स्थानीय र सरोकारवालासँग छलफल गरेपछि प्राप्त भएको सुझावलाई समेटेर पोखरी पुनःनिर्माण गरिएको जानकारी दिए ।
कामपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले कमलपोखरी वडा नम्बर १ को शान र पहिचान हो भन्दै अब यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व रहेको बताए । पुनःनिर्माणका क्रममा २०७७ चैत मसान्तसम्ममा करिब साढे दुई करोड लिटर पानी भरिएको थियो । पोखरीमा पानीको सतह घट्न नदिन आकाशे पानी सङ्कलनजस्ता प्राकृतिक प्रविधि र बाह्य स्रोतबाट पानी प्राप्त गर्न सकिने दुवै विधि जडान गरिएको छ ।
पोखरी वरिपरि ठूलाठूला ढुङ्गा छापेर सिँढी बनाइएका छन् । पोखरीको सौन्दर्य हेर्नका लागि पूर्वतर्फबाट ६० मिटरभित्र पुग्ने बाटो र झिँगटीको छानोयुक्त मण्डप बनाइएको छ । यस्तै पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप बनाइएका छन् । मण्डपमा पुग्न कलात्मक सिँढी बनाइएका छन् ।
कमल रोप्नका लागि चार कुनामा सानासाना पोखरी बनाएर कमल रोपिएको छ । आगन्तुकलाई बस्नका लागि चौतारा बनाइएका छन् । पोखरीमा प्रवेश गर्न पूर्वतिर मूल गेट राखिएको छ भने अन्य तीन कुनामा प्रवेशद्वार बनाइएको छ । पुनःनिर्माण गुरु योजनाअनुसार निर्माणको काम दुई चरणमा हुनेछ । पहिलो चरणमा पोखरी र पोखरी संरचनासँग जोडिएका काम सकिएको हो ।
दोस्रो चरणमा दक्षिणतर्फ साविकमा प्रहरी बिट भएको ठाउँलगायत वरिपरि पार्क निर्माण र हरियाली विकास, खुला शारीरिक व्यायाम स्थल, व्याडमिन्टन र बास्केटबल कोर्टलगायत संरचना बनाइनेछ । पोखरी पुनःनिर्माण गर्न २०७६ असार १९ गते प्रमुख शाक्यले नै शिलान्यास गरेका थिए ।

प्रतिक्रिया