रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेका छन् । खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले साना सैन्य सवारीहरू सहर छिरेको बताए । यसअघि नै रुसी सैन्य कारहरू खार्किभको सडकमा गुडेका भिडियो सार्वजनिक भएका थिए । सिनेगुबोभले सबै नागरिकलाई घरभित्रै रहन भनेका छन् ।
युक्रेन सरकारले नागरिकहरूलाई सडकमा ननिस्कन अनुरोध गरेको छ । यसअघि उत्तर–पूर्वी सहर खार्किभको एक नौ तले भवनमा रुसी रकेट आक्रमण हुँदा एक महिलाको मृत्यु भएको राज्य आपत्काल सेवाले जनाएको थियो ।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई रुसले फेब्रुअरी २४ देखि नै निसानामा पारेको छ । उता राजधानी किएभमा भने बिहान ७ः३० सम्म रुसले कुनै आक्रमण गरेको छैन। शनिबार राति आक्रमण हुनसक्ने चेतावनी दिइएको भएपनि त्यहाँको अवस्था शान्त रहेको नगर उपप्रमुख माइकोला पोभोरोज्न्याकले बताए ।
यसैबीच, स्पेक्सएक्स अर्बपति इलोन मस्कले रुसी आक्रमणले प्रभावित युक्रेनको इन्टरनेट सञ्जाल सुधार गर्नका लागि स्टारलिङ्क स्याटलाइट ब्रोडब्यान्ड परिचालन गरेका छन् ।
युक्रेनका उपप्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमा गरेको अनुरोधमा प्रतिक्रिया जनाउँदै मस्कले यस्तो घोषणा गरेका हुन् । भीषण लडाइँ भएका दक्षिणी र पूर्वी युक्रेन अनलाइन सेवा खराब भएका छन् । स्टारलिङ्क प्रणालीसँग करिब १ हजार ५०० भूउपग्रहहरू रहेका छन् र तिनले फाइबर अप्टिक केबल वा फोन टावरबिना पनि इन्टरनेट सेवा दिन सक्छन् ।

प्रतिक्रिया