एचआईभी संक्रमणमुक्त हुने पहिलो बनिन् अमेरिकी महिला


एक अमेरिकी महिला एचआईभी सङ्क्रमणबाट मुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी छन् । रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको बताइएको छ । उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छन् ।

तर विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसहरूमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण हुने बताएका छन् । बिरामीको उपचार गरिएको यो विषय मङ्गलबार डेन्भरस्थित एक चिकित्सा सम्मेलनमा प्रस्तुत गरिएको थियो। एचआईभीको उपचारमा यो विधि प्रयोग गरिएको पहिलो पटक सार्वजनिक भएको हो ।

क्यान्सरको उपचारका लागि नाइटोबाट रगत प्रत्यारोपण गरिएको ती महिलालाई एचआईभीको उपचारका लागि एन्टीरेट्रोभाइरल थेरापी आवश्यक परेको थिएन । अमेरिकामा एचआईभी सङ्क्रमित मानिसहरूमा क्यान्सर र अन्य गम्भीर रोगको उपचारका लागि उस्तै प्रकारको रगत प्रत्यारोपण विधि प्रयोग गरेर भएका उपचारबारे गरिएको व्यापक अध्ययनमध्ये यो उपचार पनि एक थियो ।

प्रत्यारोपणका लागि छानिएका कोषहरूमा आनुवंशिक उत्परिवर्तन थियो, जसको अर्थ ती कोषहरू एचआईभीबाट सङ्क्रमित हुँदैन थिए । परिणामस्वरूप यस्तो प्रत्यारोपण पाएका मानिसहरूमा एचआईभीविरुद्ध प्रतिरोधी क्षमता विकास हुने वैज्ञानिकहरूको विश्वास छ ।

एचआईभीको यसअघिका दुई वटा उपचारमा बोनम्यारो प्रत्यारोपणको प्रक्रियाबाट वयस्क स्टेम कोषहरू बिरामीको शरीरमा राखिएको थियो । नाइटोबाट दिइने रगत यसअघिको उपचारमा प्रयोग भएका वयस्क स्टेम कोषहरूभन्दा धेरै पाइने र यसका लागि दाता र प्रत्यारोपण गरिने व्यक्तिबीच धेरै मेल हुनुपर्ने बाध्यता पनि नहुने बताइएको छ ।

अन्तर्राष्ट्रिय एड्स सोसाइटीको अध्यक्षमा निर्वाचित सरोन लुइन यो प्रत्यारोपण उपचार विधि एचआईभी सङ्क्रमण भएर बाँचिरहेका अधिकांश मानिसहरूका लागि व्यवहारिक नभएको बताउँछिन् । तर उनले यसले एचआईभीको उपचार सम्भव भएको र यसको उपचारमा आनुवंशिक थेरापीलाई व्यवहारिक रणनीतिको रूपमा सबलीकरण गर्ने बताइन् ।

सबैभन्दा पछिल्लो अध्ययनबाट पत्ता लागेका कुराहरू पियर रिभ्यू हुने जर्नलहरूमा प्रकाशित हुन बाँकी नै रहेका कारण वैज्ञानिकहरूले यसबारे धेरै बुझ्न पाएका छैनन् । भाइरसलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने खोप र औषधिको विकासले मात्रै एचआईभी उपचारमा आशा जगाउने उनी ठान्छन्।