दक्षिण कोरियाली सेनाले नयाँ वर्षको दिनमा कडा सुरक्षा व्यवस्थाबीच उत्तर कोरियातर्फ सीमा पार गर्ने व्यक्ति पहिले त्यस्तै गरी दक्षिणतर्फ प्रवेश गरेको शङ्का व्यक्त गरेको छ । अधिकारीहरूले ती व्यक्ति एक जिमनास्ट भएको आशङ्का गरेका छन् जसले सन् २०२० मा दक्षिण कोरियातर्फ काँडेतारको बारबाट हाम फालेका थिए ।
उनी किन जोखिमपूर्ण ढङ्गमा फर्किए र उनी जीवित या छैनन् भन्ने विषय स्पष्ट छैन । उत्तर कोरियाले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सीमा क्षेत्रमा विनाअनुमति यात्रा गर्न लागेको जोकसैलाई देख्नासाथ गोली प्रहार गर्ने नीति लागु गरेको छ । हजारौँ उत्तर कोरियालीहरूले दक्षिण कोरियामा पुनर्वास गरेका छन्। तर यी दुई देशहरूलाई छुट्टाउने असैनिकीकृत दशगजा क्षेत्रमार्फत मानिस पार गर्नु दुर्लभ घटना हो।
पछिल्ला वर्षहरूको तथ्याङ्क अनुसार सीमित मानिसहरूले सीमा क्षेत्रमार्फत आवतजावत गरेका छन् । नयाँ वर्षको दिनमा पूर्वी तटीय बिन्दुको दुई कोरियाबीच सीमा छुट्टाउने असैनिकीकृत क्षेत्रमा स्थानीय समयानुसार राति ९ बजेर २० मिनेटमा कोही घुमिरहेको देखा परेपछि दक्षिण कोरियाली सेनाहरू अनुसन्धानका लागि तैनाथ भएका थिए ।
सेनाले ती मानिसलाई फेला पारेनन्। तर केही घण्टापछि ती व्यक्ति उत्तर कोरियामा प्रवेश गरेको पत्ता लगाए । निगरानी क्यामरामा देखिएका दृश्यलाई उद्धृत गर्दै एक उच्चस्तरीय सैन्य अधिकारीले ती मानिस सन् २०२० को नोभेम्बरमा भागेरै उत्तरबाट दक्षिण कोरिया प्रवेश गर्ने मानिस भएको बीबीसीलाई पुष्टि गरे । उत्तर कोरियाली भगौडा बिछ्यौना र अरू सामान फालेर सोलमा बसेको ठाउँबाट डिसेम्बर ३१ देखि बेपत्ता भए । पछि उत्तर कोरियाको सीमातिर जाने व्यक्ति उनी भएको पुष्टि भयो ।
योन्हाप समाचार एजेन्सीका अनुसार उमेरले ३० वर्ष नाघेका ती मानिस दक्षिण कोरियामा सरसफाइको काम गर्थे । उनले पक्राउ पर्दा आफू उत्तर कोरियाली जिमनास्ट भएको बताएका थिए । उनको बारेमा थप विवरणहरू सार्वजनिक भएका छैनन् । ‘फुटेजहरू हेर्दा ती मानिसको रूप र पोसाक सन् २०२० मा उत्तरबाट भागेर आएका व्यक्तिसँग मिल्दो देखिन्छ,’ रक्षा मन्त्रालयका एक अधिकारीले पत्रकारहरूलाई भने ।
सोलका सैन्य प्रमुखहरूले ती व्यक्ति अझै जीवित छन् कि छैनन् भन्ने थाहा नभए पनि आफ्नो सुरक्षाको आग्रहसहित उत्तर कोरियालाई सन्देश पठाएका थिए । उत्तर कोरियाले उनको सन्देश प्राप्त भएको स्वीकारेको छ । तर ती व्यक्ति उत्तर फर्किनुको सम्भावित उद्देश्यका बारेमा कुनै जानकारी दिइएको छैन। अहिले उनले सीमा पार गरेको घटना कसरी पत्ता लागेन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
उत्तर र दक्षिण कोरियाबीचको सिमाना बारुद भएका सुरुङले भरिएको छ साथै विद्युतीय र काँडेतारले घेरिएको छ। त्यहाँ निगरानी क्यामरा र सशस्त्र सुरक्षाकर्मीहरू चौबीसै घण्टा सतर्क अवस्थामा हुन्छन् । सोलका रक्षा अधिकारीहरूले विगतमा भएका यस्तै घटनापछि सीमा सुरक्षा प्रणालीलाई सुधार गर्ने वाचा गरेका थिए ।
कोरियाली प्रायःद्वीपमा देश छाडेर भाग्नेहरू धेरैजसो उत्तर कोरियाली हुन्छन् जो आफ्नो देशबाट भागेर लोकतान्त्रिक र सम्पन्न रहेको दक्षिण कोरिया जान खोज्छन्। र यसरी भाग्ने काम निकै खतरनाक हुन्छ । सन् २०१९ मा एक जना उत्तर कोरियाली कूटनीतिज्ञले भागेर सपरिवार दक्षिण कोरियामा शरण लिएका थिए। त्यसअघि सन् २०१७ मा दक्षिणतिर जान लागेका एक सैनिकलाई उनका सहकर्मीहरूले ४० चोटी गोली हानेका थिए । केही घटनामा त गोलीको समेत परवाह नगरी सैनिकहरूले हिँडेरै सीमा काटेका छन् ।
सोलका अनुसार सन् १९५३ मा कोरियाली युद्ध रोकिएयता ३० हजारभन्दा बढी उत्तर कोरियालीहरू गैरकानुनी रूपमा दक्षिण कोरिया आएका छन् । दक्षिण कोरियाली तथ्याङ्कअनुसार पछिल्ला वर्षमा चाहिँ उत्तर कोरियाबाट भागेर जानेहरूको सङ्ख्यामा केही कमी आएको छ । सन् २०११ मा २,७०६ जना भागेर गएकामा सन् २०१७ मा यो सङ्ख्या घटेर १,१२७ रहेको थियो ।
सन् २०११ मा किम जङ–अन शासनमा आएपछि उत्तर कोरियाबाट देश छोडेर दक्षिण भाग्नेहरूको सङ्ख्यामा उल्लेख्य कमी आएको तथ्याङ्क छ । पहिले सफलतापूर्वक सीमा पार गर्ने सम्भावना ५० प्रतिशतसम्म रहेकोमा पछिल्लो समय यो सम्भावना १० प्रतिशत मात्रै रहेको उत्तर कोरिया छोडेर भागेका एक जनाले बीबीसीलाई बताएका छन् ।
उत्तर कोरियासँग चीनको लामो सीमा जोडिएको छ। अधिकांश मानिसहरू भागेर चीन हुँदै दक्षिण कोरिया पुग्छन् । कडा सुरक्षा भएको दुई कोरियाबीचको असैनिकीकृत क्षेत्रबाट भाग्नुभन्दा त्यसरी जानु सहज मानिन्छ । चीनले भागेर आएकाहरूलाई गैरकानुनी आप्रवासीको रूपमा लिन्छ र प्रायः उनीहरूकै देश फर्काइदिन्छ ।
दक्षिणबाट भागेर उत्तर कोरिया जाने घटना चाहिँ निकै विरल हुन्छ र उनीहरू तथाकथित दोहोरो भगौडा हुन्, जो पहिला उत्तर कोरियाबाट भागेर दक्षिण पुगेका र फेरि दक्षिणबाट उत्तर नै फर्किन चाहन्छन् । सन् १९९० को दशकको मध्यतिर भोकमरीका कारण उत्तर कोरियामा हजारौँ मानिस मारिएको ठानिएका बेला त्यस्तो घटना चाहिँ धेरै सामान्य हुने गरेको बताइन्छ।
बीबीसीबाट

प्रतिक्रिया