अफगानिस्तानका लागि अमेरिकी उच्च दूत खलिलजादले राजीनामा दिने


अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले राजीनामा दिने भएका छन् । अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको दुई महिना पनि नहुँदै जालमाई खलिलजादले राजीनामा दिन लागेका हुन् ।

खलिलजादले तालिबानसँग हुने गरेका वार्ताहरूमा अमेरिकाको नेतृत्व गर्दै आएका थिए । यद्यपि महिनौँयताको कूटनीतिक वार्ताहरूले तालिबानलाई सत्ता कब्जा गर्नबाट रोक्न सकेनन् ।

राजधानी काबुलमाथि कब्जा गरेपछि गत अगष्टमा तालिबानले अफगानिस्तानमाथि पूर्ण रूपमा नियन्त्रण कायम गरेका थिए । सोमबार राजीनामाबारे एउटा वक्तव्यमार्फत् घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खलिलजादको पत्रलाई उदृत गर्दै भनेका छन्, ‘अमेरिकी नागरिकहरूलाई दशकौँ सेवा गर्न पाएकोमा म आभार व्यक्त गर्न चाहन्छु।’

ब्लिन्केनका अनुसार उक्त जिम्मेवारी अब थोमस वेस्टले सम्हाल्नेछन् । ब्लिन्केनलाई लेखेको पत्रमा खलिलजादले अफगान सरकार र तालिबानबीच गरिएको राजनीतिक व्यवस्थापन परिकल्पना गरिए अनुरूप अगाडि बढ्न नसकेको स्वीकार गरेका छन् ।

अमेरिका अफगानिस्तान नीतिको नयाँ चरणमा प्रवेश गर्न लागेकाले आफूले पदबाट राजीनामा दिएको खलिलजादले बताएका छन् । अफगान नागरिकहरूले अहिलेको अवस्था देख्नु परेकोमा आफू दुःखी भएको उनले उल्लेख गरेका छन् ।

अफगानिस्तानमा जन्मेका सतरी वर्षीय खलिलजाद काबुलमा हुर्किएका थिए। उनी लामो अनुभव भएका अमेरिकी कूटनीतिज्ञ हुन् । उनले पूर्वराष्ट्रपतिहरू डोनल्ड ट्रम्प, बराक ओबामा र जर्ज डब्ल्यू बुशको कार्यकालमा पनि काम गरेका छन्।