अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत भएको तालिबानले बताएका छन् । अमेरिकाले अफगानिस्तान छोडेयता भएको पहिलो वार्ताको समापनपछि तालिबानले सो जानकारी दिएका हुन् । वार्ता कतारमा भएको थियो ।
सहायताबाहेक अमेरिकी नागरिकको सुरक्षित बहिर्गमन र चरमपन्थी समूहहरूको नियन्त्रणका विषयमा पनि वार्तामा छलफल भएको बताइएको छ । अमेरिकी अधिकारीहरूले छलफल खुला र व्यावसायिक भएको बताउँदै तालिबानलाई कार्यान्वयनको आधारमा मूल्याङ्कन गर्ने बताएका छन् ।
अमेरिकाले सो भेटघाटले तालिबानलाई मान्यता दिएको अर्थ नराख्ने बताएको छ । आइतबार राति जारी विज्ञप्तिमा तालिबानले भनेको छः ‘अमेरिकी प्रतिनिधिहरूले अफगानलाई मानवीय सहायता दिने र अन्य सङ्घसंस्थालाई त्यस्तो सहयोग दिन सहयोग गर्ने बताएका छन्।’
विज्ञप्तिमा तालिबानले पारदर्शी रूपमा मानवीय सहयोग दिने परोपकारी समूहहरूसँग समन्वय गर्ने र विदेशी नागरिकको अनुशासित यात्रालाई सहयोग गर्ने बताएको छ । यद्यपि अमेरिकाले सहायताको कुरालाई औपचारिक रूपमा पुष्टि गरेको छैन ।
प्रवक्ता नेड प्राइसले दुई पक्षले अफगान नागरिकका लागि प्रत्यक्ष सहायताको बारेमा छलफल भएको बताए तर यसको थप विवरण दिएनन् । अफगानिस्तानमा मानवीय सङ्कट आउन सक्ने चेतावनीका बीच वार्ता भएको हो ।
विश्व बैंकका अनुसार अफगानिस्तानको कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत विदेशी सहायतामा निर्भर थियो । अगस्ट १५ मा तालिबानले कब्जा गरेपछि अमेरिकाले अफगानिस्तानको केन्द्रीय ब्याङ्कको एक खर्ब अमेरिकी डलर रोक्का गरेको छ ।

प्रतिक्रिया