काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको निवेदनमा सर्वोच्च अदालतले आगामी कात्तिक १५ मा फैसला सुनाउने भएको छ ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले सोमबार बहस सुनेपछि सो विवादमा कात्तिक १५ गते फैसला सुनाउने मिति तय गरेको हो । सर्वोच्चले कात्तिक १० गतेसम्ममा बहस नोट पेश गर्न दुवै पक्षलाई आदेश दिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगलले २०७६ माघ २२ मा बालुवाटारस्थित ललितानिवासको करिब १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न भूमिका खेल्ने १७५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा चलाएको थियो ।
अख्तियारले उनीहरूमध्ये पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ११० जनालाई जरिवाना र कैद सजाय माग गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएको थियो । अख्तियारले नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले ललितानिवासको जग्गा फिर्ता गरेपछि मुद्दा चलाएको थिएन ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्बाट निर्णय गर्ने कार्यमा तत्कालीन प्रधानमन्त्री भट्टराई र नेपाल पनि संलग्न भएकाले उनीहरुविरुद्ध फेरि अनुसन्धान गरेर पुरको मुद्दा दायर गर्नुपर्ने जिकर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया