काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसरको गरेको कार्यक्रममा सभामुखले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताएका हुन् ।
उनले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिवद्धता समेत दोहोर्याए । उनले संसदको कार्यभार असाधारण र असमान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकतावद्ध हुन आह्वान गरे ।
उनले भने, ‘संघीय संसदलाई जीवन्त र जनमुखि बनाउने सुत्र वाक्यलाई मैले त सधैभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकतावद्ध होऔं । म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु ।’
सभामुखले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको बताए ।

प्रतिक्रिया