आउँदो तीन तहको निर्वाचनबाट कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छः गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीमा मन टुटेका र नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए । कांग्रेस अहिलेको यथास्थितीबादले जनताको विश्वास जित्न नसक्ने बताए । “ आज जसरी चलेको छ यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,” उनले भने ।

थापाले कांग्रेसभित्र शुद्धिकरण आवश्यक भएको पनि बताए । तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । “ कांग्रेसभित्र ठूलो सुदृढीकरण र सुधारको खाचो छ,” उनले भने –“हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ, नागरिकहरुको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ ।”

थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिष्ट र मधेशवादी दलहरु मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गरि काम गर्न उनले आग्रह गरे । “यो अधिवेशन सकिएपछि हामीसँग संगठन बनाउन ६, ७ महिना बाँकी रहन्छ,” उनले भने ।