काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीचको सहमतिमा मात्रै एमसीसीलाई अघि बढाउन सकिने बताएका छन् ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीबार सिंहदरबारमा भएको भेटमा अध्यक्ष नेपालले सत्तारुढ दलहरुबीच सहमति गरेर मात्रै एमसीसी सम्झौंतालाई अघि बढाउन सकिने पार्टी अडान रहेको बताएका हुन् ।
त्यसक्रममा उनले नेपाली जनतालाई कन्भिन्स गराएर मात्रै सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको रहेको पनि बताए । भेटमा फातिमाले एमसीसी कुनै सैन्य रणनीति अन्तरगतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वास्त बनाउन खोजेकी थिइन् ।
यता अध्यक्ष नेपालले भने एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयम् अमेरिकी सरकारबाट भएको पनि बताएका भेटमा सहभागी नेकपा (एकीकृत समाजवादी)का कार्यालय सचिव डा. गंगालाल तुलाधरले जानकारी दिए ।
तुलाधरले भने, ‘राष्ट्रहितभन्दा बाहिर गएर सम्झौंता अघि बढ्न सक्दैन भन्ने कुरामा हामी दृढ छौं । हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमति बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौं । ती सबै राजनीतिक दलहरुको कन्सर्नको कुरा हो । त्यसैले हामीहरु आफू पनि छलफल गरेर सहमतिमा अघि बढछौं ।’
करिव ढेड घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसीसी दवाव दिएर पारित गराउने पक्षमा आफूहरु नरहेको बताएकी थिइन् ।

प्रतिक्रिया