टाङमुनि छिराउने ओलीको नियत देखिइसकेपछि हामीले विद्रोहको बाटो रोज्यौंः माधव नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएर मैदान छाडेको बताएका छन्।

शनिबार पेशागत महासंघ वागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरुले नै खुट्टा कमाएर हिँडेको बताएका हुन् ।

उनले गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको बताए। उनले भने,’केपी ओलीमा सुधारका कुनै लक्षण नभएपछि, प्रतिगमनबाट पछि हट्ने संकेत नदेखिएपछि विद्रोह गरेका हौँ । सहमतिलाई नक्कली सहमतिको जामा पहिर्याउने काम गरेपछि, आफ्नो टाङमुनि छिराउने नियत देखिइसकेपछि हाम्रो सामु कुनै बाटो भएन। त्यसपछि हामीले विद्रोहको बाटो रोजेका हौँ।’

उनले आफ्नो पार्टीले तत्काल अरु पार्टीसँग एकता नगर्ने बताए । उनले भने,‘तत्काल कुनै पार्टीमा एकता हुँदैन । भ्रम नपरोस् अब माओवादीमा एकता गर्छ भनेर । जनाधार बनाउनेछ पहिले । संगठन निर्माण गरी परिचालन गर्ने । हरेक वडावडामा कमिटी गठन गर्छौं।’ अध्यक्ष नेपालले आफू एक कार्यकाल भन्दा पार्टीको नेतृत्वमा नबस्ने बताए ।

उनले भने,‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जान्छौं । एक कार्यकाल भन्दा बढी म नेतृत्वमा बस्दिनँ । अरु जस्तो मेरो नक्कली घोषणा होइन मेरो एक कार्यकाल भन्दा बस्दिन भन्ने तर एक कार्यकाल नसकिँदै अर्को कार्यकाल रहन्छु भन्ने । पदको लागि मरिहत्ते हुने होइन ।’