मंसिरमा महाधिवेशन गर्ने कांग्रेसको निर्णय


काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो । केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ ।

त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ । वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।