मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित


बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । बुधबार दिउँसो एक बजे पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए ।

उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो । अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो । त्यसपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो ।

सभामुख पूर्णबहादुर घर्तीले पुनः प्रदेशसभाको दोस्रो बैठक सुरु गरेका थिए । बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाए । योसँगै विशेष अधिवेशन सकिएको छ । संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ बमोजिम दुई वा त्यसभन्दा धेरै दलको सरकार बनाउन आह्वान गर्नेछन् ।

विपक्षी गठबन्धनमा ४१ सांसद छन् । गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । उक्त पत्र प्रदेश प्रमुखकोमा लैजाने तयारी भएको माओवादीका प्रमुख सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए ।