स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर इद मनाउन प्रचण्डको आग्रह


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम धर्मावलम्बीको ठूलो चाड बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

बुधबार शुभकामना वक्तव्य जारी गरी अध्यक्ष प्रचण्डले यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भए । समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु ।’

उनले जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आव्हान गरेका छन् । अध्यक्ष प्रचण्डले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै सुरक्षित रही बकर इद मनाउनसमेत आग्रह गरेका छन् ।