काठमाडौं । गृहमन्त्री विष्णु पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताएका छन् । सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ कार्यक्रममा गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका लागि र यसको प्रतिष्ठालाई माथि उठाउनको निम्ति प्रभावकारी भुमिका निर्वाह गर्न निर्देशन समेत दिए । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले क्यू.आर. कोडसहितको नेपाली कोडबाट सिधै छपाइ हुने भिसा प्रणालीको सुरुवात् गरिएको बताए ।
यसबाट विदेशी नागरिकहरुले विश्वको जुन कुनै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने बताए । उनले विदेशी नागरिकले विवरण नेपाली पोर्टमा राखिसकेपछि भिसामा चाहिने विवरण कन्भर्ट भएर भिसा स्टिकर छपाइ हुने र नयाँ भिसा स्टिकरमा प्रयोग भएको क्यू.आर. कोडले यात्रा गर्ने मानिसको गोप्य सूचनाहरु स्टोर गर्ने भएको हुनाले विश्वसनीय, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य रहेको बताए ।
अन्तर्राष्ट्रिय रुपमा भुक्तानी प्रणाली सुरु नभएकाले तत्कालै विद्युतीय भिसा जारी गर्न नसकेपनि इन्टरनेशनल पेमेन्ट गेटवे सञ्चालन हुन वित्तिकै विद्युतीय भिसा जारी गर्न सकिने उलने बताए ।

प्रतिक्रिया