सरकारलाई बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दार र राहतलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका हुन् ।

त्यस्तै उनले महाविपतमा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रचण्डले मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको उल्लेख गरेका छन् ।

बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको छ ।