ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरू पनि समाप्त हुने भए: बाबुराम भट्टराई


काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचन आयोग नेकपापछि जसपालाई नष्ट गर्ने प्रयासमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने निर्णय गरेपछि भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘ओलीतन्त्रमा संविधान,लोकतन्त्र सँगसँगै राजनीतिक दलहरू पनि समाप्त हुने भए । निरंकुश शासकको छायाँमुनि टाँसिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि‘हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ । प्रतिगमनको रथ त्यतिकै रोकिने छाँटकाँट छैन है !’


आयोगको आइतबारको बैठकले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गर्दै पुरानै पदाधिकारीलाई मान्यता दिने निर्णय गरेको थियो । आयोगको निर्णयमा भनिएको छ, ‘एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग वमोजिम अद्यावधिक गर्न मिलेन ।’

आयोगले अध्यक्षलाई हटाउँदा माथिल्लो कमिटीले पारित गर्नुपर्ने भएपनि त्यसअनुसार नभएकोले विधानअनुसार नभएको बताएको हो । पार्टीको विधानअनुसार कारबाहीको निर्णयलाई अद्यावधिक गर्न नमिलेको आयोगले जनाएको छ ।

उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई निस्कासन गरेको थियो ।