डा. बाबुराम भट्टराई ।
राजीव गुरूङ (दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन् । यसलाई अन्यथा मान्नु हुन्न । मेरो सुविचारित र अनुभवजन्य मान्यता छ–कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न । समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ । अतःअपराध/अपराधी एक सापेक्ष अवधारणा हो ।
मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ– नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्;अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफू प्रधानमन्त्री छँदा मैले जेलसुधार निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन ।
रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरूङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?

प्रतिक्रिया