रसायन कारखानामा आगलागी हुँदा भारतमा कम्तीमा १८ जनाको मृत्यु


पश्चिम भारतको पुनेनजिकै एउटा रसायन कारखानामा आगो लाग्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । सोमवार अपराह्न आगलागी सुरु हुँदा उक्त कारखानाभित्र ३७ जना कर्मचारी फसेका थिए । कारखानाबाट धुवाँको मुस्लो निस्किएपछि दमकल पठाइएको थियो ।

अग्निनियन्त्रकहरूले कारखानाको पर्खाल भत्काएर भित्र फसेका मानिसलाई बाहिर ल्याएका थिए । आगलागीको कारण स्पष्ट नभएको अधिकारीहरूले बताएका छन् ।

उक्त कारखाना एसभी एक्वा टेक्नोलजीज नामक कम्पनीको स्वामित्वमा छ । उक्त कम्पनीले पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड उत्पादन गर्छ ।

उक्त कारखाना एउटा औद्योगिक क्षेत्रमा छ जहाँ अरू कारखाना पनि छन् । त्यहाँ काम गर्ने कामदारीहरू नजिकै बस्छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले घाइतेलाई केही राहत उपलब्ध गराइने बताएका छन् । महाराष्ट्र राज्यको सरकारले पनि पीडितको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ।