ललितपुर महानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ दिने


काठमाडौं । ललितपुर महानगरपालिकाले कोभिड–१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड–१९ संक्रमित भइ उपचारको क्रममा निधन भएका व्यक्तिको परिवारलाई महानगरपालिकाले प्रति मृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड – १९ जितेकाहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने उनले बताए । महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ ।

महानगरभित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको पनि प्रमुख महर्जनले बताए । उनले महानगरपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको पनि बताए ।