काठमाडौं । सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ। अब एकदिवसीय विश्वकपमा १४ र टी-२० विश्वकपमा २० टिम सहभागी हुनेछ।आगामी साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसीय विश्वकपमा सहभागि संख्या बढाउने निर्णय गरेको हो । पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागि गराइएको थियो । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा पनि १० टिमले मात्र खेल्ने तय छ ।यस्तै, २०२४ देखि टी-२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी-२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यस्तै ८ टिम सहभागि हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ ।
महिला विश्वकपमा यसअघि नै टिम संख्या बढाउने आइसीसीले निर्णय गरिसकेको छ । एकदिवसीय विश्वकपमा १४ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष तीन ६म सुपर सिक्सका लागि छनोट हुनेछन् ।यस्तै, टी-२० विश्वकपमा ५-५ टिमको चार समूह हुनेछ । चार समूहको शीर्ष दुई टिम सुपर एटमा प्रवेश गर्ने आइसीसीले जनाएको छ ।
त्यसपछि नकआउटमा स्टेजमा खेल हुनेछ । विश्वकपमा टिम संख्या बढ्ने भएपछि नेपाल लगायत एसोसिएट राष्ट्रलाई समेत फाइदा पुग्नेछ । नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो । तर त्यसयता टी-२० विश्वकपमा छनोट हुन सकेको छैन। एकदिवसीय विश्वकपमा भने नेपाल छनोट हुन सकेको छैन ।
सन् २०२२ को टी-२० विश्वकपका लागि नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ । २०२३ को एकदिसवीय विश्वकपमा लागि भने नेपालले क्रिकेट विश्वकप लिग २ को सिरिज खेल्दैछ । तर कोरोना महामारीका कारण नेपालले खेल्ने सिरिजहरु स्थगित भएको छ ।

प्रतिक्रिया