काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले खोपको बहानामा राष्ट्रपतिलाई सक्रिय बनाउन लागेको हो कि भन्दै आशंका गरेकी छन् ।
सोमबार सामाजिक संजालमार्फत संग्रौलाले विश्वका राष्ट्रपतिहरुसँग अनुनयविनय गर्दै भिक /सहयोग माग्ने अधिकार राष्ट्रपतिलाई संविधानको कुन धारा अन्तरगत प्राप्त हुन्छ ? भन्दै प्रश्न गरेकी छन् । उनको प्रश्न छ , ‘कार्यकारी अधिकार भएको मन्त्रिपरिषदले राष्ट्रपतिलाई पत्राचार गरि भिक/सहयोग माग्ने अधिकार दिएको हो ?’
उनले लेखेकी छन्, ‘नेपालको संविधान २०७२ अनुसार आलङ्कारी रुपमा रहने संस्थाले विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोपको बहाना बनाएर विश्वका राष्ट्रपतिहरुसँग अनुनयविनय गर्दै भिक /सहयोग माग्ने अधिकार राष्ट्रपतिलाई संविधानको कुन धारा अन्तरगत प्राप्त हुन्छ ? सोको जानकारी जनतालाई चाहियो, होइन भने यसका अनेकौं अर्थ लाग्न सक्दछन् । वर्तमान सम्माननीय राष्ट्रपतिका क्रियाकलापबाट आमनेपाली जनता सशंकित भएका छन् । कार्यकारी अधिकार भएको मन्त्रिपरिषदले राष्ट्रपतिलाई पत्राचार गरि भिक/सहयोग माग्ने अधिकार दिएको हो ? यदि हो भने नेपाली जनताको शीर निहुर्याउने अधिकार सार्वभौम जनताले कसैलाई दिएका छैनन् । के अब मन्त्रिपरिषदका मातहतका निकायले गर्नुपर्ने कार्य पनि सोझै राष्ट्रपतिबाट गराइ राष्ट्रपतिलाई सकृय बनाउन खोजिएको त हैन ? जनतामा शंकाको बादल मडारिएको छ ।’
केही दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीलाई खोप सहयोग माग्दै चीन, भारत, अमेरिका, रुस तथा वेलायती महारानीलाई पत्राचार गरेकी छन् । चीनले भने १० लाख डोज खोप दिने घोषणा गरिसकेको छ । खोप लिन आज राति नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाँदैछ ।

प्रतिक्रिया