सिरियाको राष्ट्रपतिमा बसर अल असद पुनः निर्वाचित


सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन् । दुई दिन अघि भएको मतदानबाट उनी नै पुनः राष्ट्रपति निर्वाचित भएका हुन् ।

सिरियाका सभामुख हमादेन सवागले असद निर्वाचित भएको घोषणा गरेका हुन् । सिरियाको संसदले उनी पुनः सिरियाको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले यस पटकको निर्वाचनमा प्रतिद्वन्द्वीहरुको भन्दा निकै धेरै मत ल्याएका छन् । उनको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ ।

यस पटक समेत गरी उनी सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएका हुन् । उनको कार्यकाल सात वर्षको हुनेछ । उनले यसअघि सन् २०१४ मा भएको निर्वाचनमा ८८ प्रतिशत मत ल्याएकोमा यस पटक भने त्यो भन्दा पनि बढी मत ल्याएका छन् ।

सिरियामा अहिले पनि सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रहरुमा मात्र मतदान भएको बताइएको थियो । खासगरी सिरियाको राजधानी र सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरु बोहकका क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो ।

सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले सिरियामा बुधबार भएको मतदान शान्ति सुरक्षाको व्यवस्था मिलाइएका कारण शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिएका थिए ।

सिरियाका राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो ।