काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनबीच सोमबार टेलिफोन वार्ता भएको छ । उनीहरूबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्ध सहकार्य र साझा अन्तर्राष्ट्रिय मुद्दाका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री ज्ञवालीले कोभिड–१९ मा अमेरिकाले देखाएको सद्भावपूर्ण सहकार्यलाई लिएर धन्यवाद व्यक्त गरेका थिए । ज्ञवालीले उपविदेशमन्त्री सेरमनलाई विकासोन्मुख मुलुकलाई खोप वितरण गर्दा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका थिए ।
उपविदेशमन्त्री सेरमनले बाइडेन प्रशासनले कोरोना भाइरसविरुद्ध लड्न सहकार्य गर्नेदेखि नेपालको सामाजिक आर्थिक क्षेत्रमा सहयोग पुर्याउने आश्वासन दिएकी छन् ।
दुई पक्षबीच जलवायु परिवर्तनको विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच नेपालले आउँदो अक्टोबरमा गर्ने तय गरेको सगरमाथा संवादको विषयमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया