पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि ओली र नेपालबीच प्रारम्भिक संवाद शुरु महत्वपूर्णः वामदेव गौतम


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद सुरु भएकोमा खुसी व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत गौतमले पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद शुरु हुनु एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने आफ्नो चाहना रहेको बताएका हुन् । त्यस्तै गौतमले अध्यक्ष ओली नेपालको ४३ औं प्रधानमन्त्री नियुक्त भएकोमा बधाईसमेत दिएका छन् ।

गौतमले लेखेका छन्, ‘नेकपा एमाले का दुई वरिष्ठ नेताहरु अध्यक्ष केपी शर्मा ओली र पार्टीका पूर्वमहासचिव क.माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद शुरु भएको छ । यो नेकपा एमालेका निम्ति एक महत्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपालको ४३ औं प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’