काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले एमसीसीसँगको सम्झौता पारित गर्नुपर्छ भन्दै संसदमा चिच्याउनेहरुलाई नेपाली जनताले चिन्नुपर्ने बताएका छन् ।
मंगलबार सामाजिक संजालमार्फत रावलले नेपालको सीमा मिचिदा र स्वाभिमानमा प्रहार हुँदा चुइक्क नबोल्ने तर नेपालको स्वाधीनता र स्वनिर्णयको अधिकारमा आघात पार्ने एमसीसीसंगको सम्झौता पारित गर्नुपर्छ भन्दै संसदमा चिच्याउनेहरुको विरोध गर्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘नेपालको सीमा मिचिदा र स्वाभिमानमा प्रहार हुँदा चुइक्क नबोल्ने तर नेपालको स्वाधीनता र स्वनिर्णयको अधिकारमा आघात पार्ने एमसीसीसँगको सम्झौता पारित गर्नुपर्छ भनी संसदमा चिच्याउनेहरू सत्ता र कुर्सीका लागि मातृभूमिको चिरहरण गर्न उद्दत रहेको देशभक्त नेपालीले बुझौं । त्यस्ताको विरोध गरौं ।’
सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपाको केपी ओली पक्षका सांसदले एमसीसीसँगको सम्झौता पारित गर्न माग गरेका थिए । सांसद खगराज अधिकारीले एमसीसी सम्झौतालाई संसदको विजनेश बनाउन माग गरेका थिए ।


प्रतिक्रिया