पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी


काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले प्यानलसहित विजयी भएका छन् ।

पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छिन् । महासंघको निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरुले गठबन्धन बनाएका थिए ।

महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा रोशन पुरी विजयी भएका छन् । उनले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरेका छन् । खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् ।