काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु देशभित्र र बाहिरका अनेक षड्यन्त्र र प्रपञ्च विरुद्ध लडिरहेको बताएका छन् ।
३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मंगलबार रुकुम पश्चिममा आयोजना गरेको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले काठमाडौंमा बसेर लडेको लडाइँले आफूहरुलाई धेरै प्रतिफल नदिएको भन्दै आफूहरु जनताको गाउँघर, टोलमा पुगेका बेला जनताको बलमा सफलता पनि प्राप्त हुने गरेको बताए ।
उनले भने, ‘मलाई गद्दार भन्नेहरूलाई गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ । सायद मैले गल्ती गरेँ । २०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाए । म अब त्यस्तो गर्दिनँ ।’ संगठनमा कुनै प्रभाव नै नभएका मानिसलाई स्थायी समितिमा राखेको भन्दै उनले त्यस्ता मानिस अन्ततः ‘बिकाउ’ साबित भएको उनको भनाई थियो ।
जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन जाली फटाहा, प्रतिक्रान्तिकारीले प्रयास गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसकाविरुद्ध संघर्षका क्रममा आफूले जनताको साथ खोजेको बताए । उनले पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि आफू प्रतिगमन हो भनेर त्यसविरुद्ध संघर्ष गर्न देशव्यापी अपील गरेको स्पष्ट गरे ।

प्रतिक्रिया