काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले विना तयारी प्रधानमन्त्री निवास बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले अति महत्वपूर्ण विधेयकहरु थन्किएको, कर छल्नेको घरमा पार्टी कार्यलय राखेको, संसदले महिला हिंसाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँट्ने गरेको बताएकी हुन् ।
उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरवारमा आउन डराएको र बालुवाटार पनि सरकारी निवास नै भएकाले बालकोटमै गएर राज गर्न सुझाव दिइन् ।
उनले भनिन् ‘देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गको नयाँ युवामा प्रवेश गर्यो रे । मेरो जिल्लाका जनताले एम्बुलेन्स, गाडी के हो देखेका छैनन् । बिरामीले अहिलेसम्म अकालमा ज्यान गुमाउनु परेको छ । जो ठूला अपराधी, भ्रष्टचारीहरुलाई गणतन्त्र मनाउनेको नाममा चालचलन राम्रो लाग्यो भनेर राष्ट्रपतिज्यूले कैद मिनाहा गरिदिनुहुन्छ । म भ्रष्टाचार गर्दिन, गर्नपनि दिन्न भन्नुहुन्छ, जसले राज्यको कर छली गर्न सक्छ उसैको घरमा पार्टी कार्यालय स्थापना हुन्छ । नागरिकता जस्ता अतिमहत्वपूर्ण विधेयकहरु थन्किन्छन्, हजारौं नागरिक बाटोमा छन्, संविधान विपरित संवैधानिक परिषद्को अध्यादेश ल्याइन्छ अनि महिला सांसदले महिला हिंसाका विधेयकहरु, अध्यादेशहरु अगाडि ल्याउन दिएन भनेर ढाँटनुहुन्छ हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यू । तयारी नगरी एक सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक भनेर बालुवाटारबाट स्वीच थिचेर शिलान्यास गर्नुहुन्छ सम्माननीय प्रधानमन्त्री ज्यू यो त नौटङ्की नै हो । संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराउनुहुन्छ, बालुवाटार पनि सरकारी निवास हो । अब बालकोट मै गएर राज गर्दा राम्रो होला । ”

प्रतिक्रिया