प्रदेश एकका अर्थमन्त्री आङबुहाङको सांसद पद गुम्ने


विराटनगर । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रदेश एकका अर्थमन्त्री टंक आङबुहाङको सांसद पद गुम्ने भएको छ । नेकपा माओवादी केन्द्रले आङबुहाङले दल त्याग गरेको सूचना प्रदेशासभा सचिवालयलाई दिएर प्रदेश सांसदको पद रिक्त गराउने भएको हो ।

माओवादी केन्द्रबाट निर्वाचित ताप्लेजुङका प्रदेशसभा सदस्य आङ्बुहाङ एमाले प्रवेश गरेर अर्थमन्त्री बनेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाएका छन् । राजनीतिक दल सम्बन्धी ऐन अनुसार सांसदले अर्को दलको सदस्यता लिएमा पद रिक्त हुने व्यवस्था छ । उनको पद रिक्त भएमा ६ महिनाभित्र निर्वाचन आयोगले उपचुनाव गराउनुपर्छ ।