महेन्द्रनगर । कञ्चनपुरमा पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा दुई करोड रुपैयाँको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो ।
“प्रतिबिघा प्रतिवर्ष ३५ हजार रुपैयाँ तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा लिएर ड्रागनखेती गरेका छौँ”, सञ्चार उद्यमी महताले भने, “विदेशबाट ड्रागनको बीउ ल्याएर खेती गरेका हौँ ।” ६ बिघा जग्गामा ३० हजार बिरुवा रोपिएका छन् । ड्रागनका बिरुवा एक पोलमा चारवटाका दरले रोपिएको छ । बन्दाबन्दीका बेला केही गर्नुपर्छ भन्ने भावनाअनुरूप ड्रागनखेतीमा संलग्न भएको महताले बताए ।
ड्रागनखेती गरिएको फार्ममा चार जनाले प्रत्यक्षरूपमा रोजगारी पाएका छन । उनका अनुसार फल लाग्दासम्म ५० जनालाई र फल बजारमा बेच्न तयार भएपछि ३०० जनालाई रोजगारी दिने योजना रहेको छ । ड्रागनखेतीका लागि ५० लाख सेयर सदस्यबाट र अन्य रकम बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गरिएको छ ।
“शुरुवातमा धेरै लगानी लागे पनि त्यसको प्रतिफल पाइन्छ”, प्रालिका अध्यक्ष चन्दले भने, “दुई वर्षभित्रै लगानी गरिएको रकम ड्रागनखेतीबाटै उठाउने लक्ष्य लिएका छौँ”, ड्रागनखेती अवलोकनका लागि सोही क्षेत्रमा ‘भ्यूटावर’समेत निर्माण गरिएको छ । सिँचाइका लागि पोखरीसमेत निर्माण गरिएको छ । हालसम्म ३०० भन्दा बढी जनाले ड्रागनखेतीको अवलोकन गरेका छन् । स्वास्थ्यबद्र्धक मानिएको ड्रागनबाट धेरै फाइदा हुने बताइएको छ ।

प्रतिक्रिया