काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लेखा समिमितले काठमाडौं–तराई फाष्ट ट्रयाकको ठेक्का रद्द गर्ने आदेश गरेर ठीक गरेको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले अब यसबारेमा छानविन हुनुपर्ने बताएका छन् ।
उनले ठेक्का दिँदा एउटा मात्र ठेकेदार छान्नु नै गलत भएको बताएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाडौं–तराई फाष्ट ट्रयाकको निर्माण फेरि विवादमा पर्नु दुःखद छ । पचासौं अर्बका ठेक्काको PQ गर्दा एउटामात्र ठेकेदार छान्नु स्वतःगलत थियो । भ्रष्टाचारको ह्वास्स गन्ध आउँथ्यो । लेखा समितिले रोक्ने आदेश गरेर ठीक गर्यो । आदेश पालना होस् ! छानविन होस् !’

बिहीबार संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्र्याको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेज मध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्द गर्न नेपाली सेनालाई निर्देशन दिएको थियो ।
फास्ट ट्र्याकको दुईवटा प्याकेजको टेण्डर आह्वानको लागि प्रि–क्वालिफिकेसनको नतिजा निकालिएको मध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा हुने नदेखिएकाले रद्द गरी पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया शुरु गर्न समितिले निर्देशन दिएको हो ।
यस्तै समितिको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि यथासक्य छिटो निर्देशिकाहरु तयार गर्ने र मापदण्ड कार्यविधि तयार गरेर अन्तर्राष्ट्रिय स्तरको इन्जिनियरिङ प्रोकुरमेन्ट एण्ड कन्सट्रक्सनसँग सम्बन्धित डकुमेन्टहरु जारी गरेर अवरोध हटाउन समेत निर्देशन दिएको छ ।
नेपाली सेनाले दोस्रो प्याकेज अन्तर्गत मकवानपुरको धोन्द्रे स्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सी सम्म १.४ किलोमिटर गर्री दुईवटा सुरुङमार्ग र पुल निर्माणका लागि चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई मात्र प्रि–क्वालिफिकेसनमा छनोट गरेको थियो ।

प्रतिक्रिया